बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेटको सेमिफाईनलमा प्रवेश

विनोद सिंह विष्ट–बैतडी,४ माघ–
रिषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाण्डौं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ को सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहीवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउदै दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौंले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । टस हारेर ब्याटिङ्गको निम्ता पाएको त्रिपुराले निर्धारित २० ओभरमा लोकेन्द्र थापाको सर्वाधिक २३ रनको मद्दतमा १०२ रन बनाएको थियो । देहिमाण्डौंका बसन्त बोहराले ३ तथा रिषिकेश बोहराले २ विकेट हात पारे ।
१०३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १० ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको होे । देहिमाण्डौंका दिपक बोहराले सर्वाधिक २९ रन जोडका थिए । यस्तै खडक बोहराले २० तथा रिषिकेश बोहराले नटआउट ७ रन बनाए । त्रिपुराका गणेश थापाले २ विकेट हात पारेका थिए । खेलका म्यान अफ दि म्याच रिषिकेश बोहरा भए ।
प्रतियोगिता अन्र्तगत शुक्रवार समुह बी का २ खेल हुने भएका छन् । पहिलो खेल बिहान ९ बजे वडा नम्बर १ गुरुखोला र वडा नम्बर १० भिड्नेछन् भने मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा नम्बर १ गुरुखोला र वडा नम्बर ४ आमनेसामने हुने भएका छन् ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।
टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद , ट्रफी र प्रमाणपत्र , द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहेको छ ।
बुधवारदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.